समाचार

लोबुचे हेलिकप्टर दुर्घटना : ‘ह्वाइट आउट’ पासो पुष्टि

१५ चैत, काठमाडौं । सोलुखुम्बुको लोबुचेमा १२ कात्तिक २०८२ मा दुर्घटनामा परेको अल्टिच्युड एयरको ‘९एन–एएमएस’ हेलिकप्टर ‘ह्वाइट आउट’ अवस्थाका कारण दुर्घटनामा परेको पुष्टि भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको अन्तिम प्रतिवेदनले अवतरणका क्रममा दृश्यता अत्यन्त कम हुँदा दुर्घटना भएको निष्कर्ष निकालेको हो।

प्रतिवेदन अनुसार हेलिकप्टर अवतरण गर्न लाग्दा हेलिप्याड ताजा हिउँले ढाकिएको थियो। हेलिकप्टरको रोटरले हिउँ उडाउँदा ‘ह्वाइट आउट’ अवस्था सिर्जना भई पाइलटको दृश्यता घटेको थियो। यही क्रममा हेलिकप्टर असन्तुलित भई मुख्य रोटर जमिनमा ठोक्किँदा पल्टिएको उल्लेख गरिएको छ।

उक्त उडान लोबुचे क्षेत्रमा गरिएको चार्टर उडान थियो र सो दिनको छैटौं उडानका रूपमा सञ्चालन गरिएको थियो। प्राविधिक रूपमा हेलिकप्टरमा कुनै खराबी नदेखिए पनि प्रतिकूल अवस्था हुँदाहुँदै अवतरण जारी राख्नु दुर्घटनाको मुख्य कारण मानिएको छ।

हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्र सवार थिए र दुर्घटनामा मानवीय क्षति भने भएन। तर, हेलिकप्टरमा गम्भीर क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले दुर्गम हिमाली क्षेत्रका उडान व्यवस्थापनमा कमजोरी औंल्याउँदै लुक्ला क्षेत्रमा पर्याप्त जिम्मेवार अधिकारीको अभाव रहेको पनि संकेत गरेको छ। साथै, लोबुचेमा ग्राउन्ड स्टाफ नभएकाले पाइलटले आवश्यक सहयोग नपाएको निष्कर्ष समेत निकालिएको छ।

भविष्यमा यस्ता दुर्घटना रोक्न प्रतिवेदनले विभिन्न सुझावहरू दिएको छ। जसमा उडानअघि मौसम र अवतरणस्थलको अवस्थाबारे विस्तृत जानकारी संकलन, जोखिम मूल्यांकन प्रणाली लागू गर्ने, हेलिप्याडमा स्पष्ट मार्कर राख्ने तथा व्यस्त समयमा सब–बेसमा अनिवार्य कर्मचारी राख्नुपर्ने उल्लेख गरिएको छ।