समाचार

जनताको आवाज बन्न सांसदलाई खड्काको आह्वान

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का ले नवनिर्वाचित सांसदहरूलाई संसद्भित्र प्रभावकारी भूमिका निर्वाह गर्न र देश तथा जनताको हितमा दृढ रूपमा उभिन आग्रह गरेका छन्।

सोमबार काठमाडौंको धुम्बराहीस्थित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि बनेको संसद्मा कांग्रेसको संख्या अपेक्षाकृत कम भए पनि पार्टीका सांसदहरूले लोकतान्त्रिक इतिहासको जिम्मेवारी बोकेको उल्लेख गरे। उनले सांसदहरूलाई संसदीय गतिविधिमा सक्रिय र अनुकरणीय बन्न आह्वान गरे।

खड्काले कानून निर्माण, जनअधिकारको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सांसदहरूले प्रखर रूपमा आफ्नो भूमिका प्रस्तुत गर्नुपर्ने बताए। साथै, संसद् बाहिर रहेका अनुभवी नेताहरूले आवश्यक सहयोग, सुझाव र समर्थन सधैं उपलब्ध गराउने पनि उनले स्पष्ट पारे।

उनले संसदीय प्रतिस्पर्धामा सशक्त रूपमा उभिन र संविधान संशोधनको विषयमा पनि गम्भीर बहस अगाडि बढाउन आग्रह गरे। संविधानका मूल विषयमा सम्झौता नगरी सुधारका पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो।

खड्काले अन्त्यमा सांसदहरूलाई आश्वस्त पार्दै भने, “संसद्भित्र तपाईंहरू सक्रिय रहनुहोस्, बाहिर हामी सधैं साथमै हुनेछौं।”