१७ चैत, काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेसभित्र समानुपातिक सांसद छनोट प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाएका छन्। काठमाडौंको धुम्बाराहीस्थित एक भेलामा आफ्ना समूहका नेताहरूसँग छलफल गर्दै उनले पार्टीको संस्थापन समूहले नियमविपरीत निर्णय गरेको बताएका हुन्।
खड्काका अनुसार समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर सोही क्लस्टरमा नपरेका व्यक्तिलाई प्राथमिकता दिइएको छ। उनले यस्तो निर्णय पार्टीको नियम र विधिविपरीत भएको दाबी गरे।
उनले थपे, “हाम्रा उम्मेदवारहरू न्यायका लागि अदालत गइसकेका छन्।” उनका अनुसार दलित कोटाबाट समानुपातिक सूचीमा परेका मानबहादुर नेपाली पनि न्यायिक उपचारका लागि अदालत पुगेका छन्।
यसैबीच, पछिल्लो समय कांग्रेसभित्रको आन्तरिक विवाद झन् चर्किएको छ। विशेष महाधिवेशनपछि नयाँ नेतृत्व चयन भएसँगै पार्टीभित्र दुई धार स्पष्ट देखिएको छ। एकातिर शेरबहादुर देउवा र शेखर कोइराला समूह एकजुट देखिएका छन् भने अर्कोतर्फ नयाँ नेतृत्व पक्ष सक्रिय छ।
उता पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसे ले छुट्टै भेला गर्दै आएको यस समूहलाई पार्टी अनुशासनभित्र रहन चेतावनी दिएका छन्।
समानुपातिक उम्मेदवार छनोटलाई लिएर सुरु भएको विवादले अहिले कांग्रेसभित्र गम्भीर राजनीतिक तनाव सिर्जना गरेको छ।





