१७ चैत, पोखरा । पर्यटकीय सहर पोखरामा अवैध रूपमा सञ्चालन भइरहेको ‘ट्रान्स पार्टी’मा प्रहरीले छापा मार्दा ३८ जना पक्राउ परेका छन्। फेवातालमाथि पर्ने सेदी क्षेत्रको जंगल नजिक रहेको एक पुरानो घरमा आयोजित उक्त पार्टी सोमबार राति सञ्चालन भइरहेको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार उक्त जमघट कम्तीमा ७२ घण्टा चल्ने तयारी थियो। तर गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोली राति करिब १:३० बजे त्यहाँ पुगेपछि कार्यक्रम रोकिएको हो।
छापामार्दा नेपालीसहित भारत र ब्राजिलका नागरिकहरू लागूपदार्थको नशामा रमाइरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट एमडीएमए, चरेस, कोकिनजस्तो पदार्थ, हेरोइनजस्तो खैरो धुलो, ‘आइस’, गाँजा, म्याजिक मशरूम र एलएसडीजस्ता लागूऔषध बरामद गरिएको छ।
पक्राउ परेकामध्ये १२ जनामाथि लागूऔषध सम्बन्धी मुद्दा चलाइने भएको छ भने बाँकी २६ जनालाई सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ।
पोखरामा यस्ता ‘ट्रान्स पार्टी’हरू पहिले पनि गोप्य रूपमा हुने गरेको पाइएको छ। यसअघि २०७५ सालमा पनि ठूलो संख्यामा यस्तै पार्टीमा सहभागीहरू पक्राउ परेका थिए।




