१७ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क प्रति प्रशिक्षार्थी ७ सय रूपैयाँ मात्रै हुने स्पष्ट पारेको छ। विभागले ७ सयभन्दा बढी शुल्क लिने कुनै पनि संस्थाको इजाजतपत्र स्वतः रद्द हुने चेतावनी दिएको छ।
विभागका अनुसार अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र सो अवधिको कुल शुल्क ७ सय रूपैयाँमै सीमित रहनेछ। तर, पछिल्ला समय केही तालिम प्रदायक संस्थाले २ हजार १ सय रूपैयाँसम्म लिने गरेको गुनासो प्राप्त भएको छ।
वैदेशिक रोजगार ऐन २०६४ तथा कार्यविधिअनुसार तालिमका सबै मापदण्ड पालना गर्नु आवश्यक रहेको विभागले जनाएको छ। कुनै संस्थाले ७ सय रुपैयाँभन्दा बढी शुल्क लिएको प्रमाण भेटिएमा त्यसको इजाजतपत्र स्वतः खारेज हुनेछ। विभागले सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई तोकिएको शुल्क मात्र लिन र नियम पालना गर्न कडा निर्देशन दिएको छ।





