१७ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक चैत १९ गते बस्दैछ र यसबाट सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय बहुमतका कारण सभामुख पाउने निश्चित देखिन्छ। रास्वपाभित्र डिपी अर्याललाई सभामुख बनाउन प्रस्ताव चलिरहेको छ।
सभामुख र उपसभामुख फरक दल र फरक लिंगका व्यक्ति हुनुपर्ने संविधानको प्रावधान छ। उपसभामुखको निर्वाचन सभामुख निर्वाचित भएपछि तय गरिनेछ। प्रतिनिधिसभामा रास्वपा बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा र एक स्वतन्त्र सांसद रहेका छन्।
निर्वाचित सभामुखले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् भने उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुख समक्ष शपथ ग्रहण गर्नेछन्।




