राजनीति

रास्वपामा संसदीय जिम्मेवारी कसले पाउँदैछन् ?

१७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनपछि संसदीय फाँटमा जिम्मेवारी बाँडफाँटका लागि आन्तरिक छलफल तीव्र बनाएको छ। संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक तथा संसदीय समितिका सभापतिहरूको चयनबारे पार्टीभित्र परामर्श भइरहेको छ।

स्रोतका अनुसार संसदीय दलको उपनेतामा इन्दिरा रानामगरको नाममा चर्चा चलिरहेको छ, यद्यपि अन्तिम निर्णय हुन बाँकी छ। सभामुखमा भने उपसभापति डीपी अर्याललाई अघि सार्ने तयारी गरिएको छ।

यस्तै, प्रमुख सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी र सचेतकमा निशा डाँगीको सम्भावना बलियो देखिएको छ। रास्वपाको विधानअनुसार संसदीय दलमा नेता, उपनेता, प्रमुख सचेतक र सचेतक रहने व्यवस्था छ।

संसदीय समितिहरूको नेतृत्व चयनमा पनि छलफल सुरु भएको छ। अघिल्लो संसदमा अनुभव भएका सांसदहरूलाई प्राथमिकता दिइने तयारी छ भने मनिष झा, गणेश पराजुली र हरि ढकाललाई समितिको सभापति बनाउने सम्भावना रहेको बताइएको छ। महिला तथा सामाजिक मामिला समितिको नेतृत्व भने महिला सांसदलाई दिने तयारी गरिएको छ।

रास्वपाले आफ्ना सांसदहरूलाई विषयगत रुचि र ज्ञानका आधारमा समितिमा सहभागी हुन इच्छा व्यक्त गर्न पनि आग्रह गरेको छ।