समाचार

समानान्तर गतिविधि रोक्न कांग्रेसको कडा निर्देशन

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नियम र विधान उल्लंघन गर्दै समानान्तर गतिविधि सञ्चालन गर्ने समूहलाई सचेत गराएको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्यलाई गलत ठहर गर्दै चेतावनी जारी गरेको हो।

अनुशासन समितिका संयोजक तारामान गुरुङ का अनुसार, अब यस्ता गतिविधि दोहोरिएमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र नेपाल कानुन बमोजिम कडा कारबाही अघि बढाइने छ।

कांग्रेसको निर्णयमा उल्लेख छ कि शेरबहादुर देउवा–शेखर कोइराला समूहले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नक्कली लेटरप्याड प्रयोग गरी पार्टीको जिम्मेवारी आफूहरूसँग भएको जस्तो देखाउने अनधिकृत वक्तव्य जारी गरेको छ।

बैठकले यस किसिमको कार्यलाई गलत ठहर गर्दै पार्टीको अखण्डता र नियमको संरक्षण गर्न सदस्यलाई सचेत गराएको छ। अब उप्रान्त यस्तो गतिविधि गर्ने जो कोही व्यक्ति कारबाहीको दायरामा पर्ने चेतावनी दिइएको छ।