१८ चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडा चेकिङ सुरु गरेको छ। यसअघि राति करिब ८ बजेपछि मात्र मापसे चेकिङ गर्ने गरिएको थियो, तर दिउँसो पनि गाडीचालकलाई लक्षित गरेर चेकिङ गर्न थालिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारी का अनुसार बुधबारको चेकिङमा मात्रै १६ चालक कारबाहीमा परेका छन्। उनीहरूलाई ट्राफिक प्रहरीले गाडीसहित नियन्त्रणमा लिएर सम्बन्धित प्रहरी युनिटमा पठाएको छ।
एसएसपी अधिकारीले भने, “पहिले चिट काटेर छाड्ने गरेको चलन अब छैन। अब चालकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइन्छ।” कारबाहीमा परेका चालकमा स्कुल बस, सार्वजनिक बस र माइक्रोबसका चालक पनि रहेका छन्।
ट्राफिकको यस कदमले यात्रुको सुरक्षा सुनिश्चित गर्न र सडकमा दुर्घटना रोक्ने उद्देश्य राखेको अधिकारीले बताएका छन्।




