समाचार

मतदाता नामावली अद्यावधिक र सुधारका लागि निर्वाचन आयोगको नयाँ व्यवस्था

१७ चैत, काठमाडौै । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तर्गत निर्वाचन आयोगले स्थगित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम २०८२ चैत २२ गतेदेखि पुनः सुरु गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई ले जानकारी दिँदै भने, राष्ट्रिय परिचयपत्र (NPR) प्रणालीमा आबद्ध नेपाली नागरिकले आफ्नै परिचयपत्र विवरण प्रयोग गरी अनलाइन माध्यमबाट सजिलै मतदाता नामावलीमा दर्ता गर्न सक्नेछन्।

त्यस्तै, NPR प्रणालीमा नअबद्ध नागरिकले Pre-Enrollment प्रणाली मार्फत अनलाइन फाराम भरी फोटो तथा औंठाछापसहित जैविक विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर बुझाउनुपर्नेछ।

आयोगले मतदाता नामावलीमा नाम, थर, ठेगाना सुधार, मतदान स्थल स्थानान्तरण, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइ अद्यावधिक गर्ने लगायतका कामका लागि पनि अनलाइन आवेदन सुविधा उपलब्ध गराएको छ।

निर्वाचन आयोगले मतदाता दर्ता तथा अद्यावधिक कार्यक्रमका बारेमा सबै नागरिकलाई सचेत रहन अनुरोध गरेको छ।