समाचार

संसद्को पहिलो बैठक अघि पाँच कार्यसूची सार्वजनिक

१८ चैत, काठमाडौं । २१ फागुनको निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठकका लागि पाँच वटा कार्यसूची सर्वदलीय बैठकले तय गरेको छ। बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बसेको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूले सहमति जनाएका हुन्।

कार्यसूचीअनुसार पहिलो दिन अधिवेशन आह्वानको सूचना वाचन हुनेछ भने सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सभाको अध्यक्षता गर्नेछन्। बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले पनि शुभकामना सन्देश दिने अभ्यास जारी रहनेछ।

सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ। मनोनयन दर्ता चैत २० गते हुनेछ। एक मात्रै उम्मेदवार भए निर्विरोध घोषित गरिने व्यवस्था छ भने बढी उम्मेदवार भएमा प्रस्तावक–समर्थक सदस्यको समर्थनपछि बहुमतका आधारमा निर्वाचन हुनेछ।

सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली पुरानै अनुसार कार्यान्वयन गर्ने सहमति पनि जनाएको छ। अर्को कार्यसूचीमा अघिल्लो सरकारले जारी गरेका अध्यादेशहरू टेबुल गर्ने व्यवस्था गरिएको छ। यसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२, नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ र मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२ रहेका छन्।

निर्वाचन, संसद् र अध्यादेशसम्बन्धी प्रक्रिया संविधानको धारा ११४ अनुसार अघि बढाइनेछ, जसमा अध्यादेश ६० दिनभित्र संसद्मा पेश नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ।