समाचार

काठमाडौं–धनगढी रुटको भाडा २३ हजार नाघ्यो, अन्य रुटको नयाँ भाडा कति?

१८ चैत, काठमाडौं । हवाई इन्धनको मूल्य दोब्बर बढेसँगै आन्तरिक उडान भाडामा भारी वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको अधिकतम भाडा अब २३ हजार ५९ रुपैयाँ पुगेको छ।

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा १२५ रुपैयाँबाट २५१ रुपैयाँ पुर्‍याएको छ। यसका कारण धनगढी रुटको इन्धन भाडा मात्र ११ हजार ९० रुपैयाँ पुगेको छ। न्यूनतम भाडा १४ हजार ४ सय ५७ रुपैयाँ कायम गरिएको छ।

वायुसेवा सञ्चालक संघका अनुसार बढेको डलर र इन्धन मूल्यले हवाई सेवा व्यवस्थापन चुनौतीपूर्ण बनाएको छ।

अन्य प्रमुख रुटको भाडा यस प्रकार छ:

  • काठमाडौं–माउन्टेन: न्यूनतम ११ हजार ३ सय ४२, अधिकतम १८ हजार २६
  • काठमाडौं–भद्रपुर: न्यूनतम ९ हजार ९८९, अधिकतम १५ हजार ८ सय ३७
  • काठमाडौं–विराटनगर: न्यूनतम ८ हजार ८८, अधिकतम १२ हजार ७ सय ६५
  • काठमाडौं–जनकपुर: न्यूनतम ५ हजार ५ सय ६५, अधिकतम ७ हजार ७०
  • काठमाडौं–पोखरा: न्यूनतम ५ हजार १५, अधिकतम ८ हजार ६ सय ५
  • काठमाडौं–भैरहवा: न्यूनतम ७ हजार ६, अधिकतम ११ हजार १६
  • काठमाडौं–नेपालगन्ज: न्यूनतम १० हजार ८ सय, अधिकतम १७ हजार १ सय ४८
  • काठमाडौं–तुम्लिङटार: न्यूनतम ६ हजार ३ सय २७, अधिकतम ९ हजार ९ सय २०
  • सिमरा–धनगढी: अधिकतम २६ हजार ३ सय ६ (इन्धन शुल्क १२ हजार ७ सय ३५)

प्राधिकरणले भाडामा इन्धन शुल्क, भ्याट र विमानस्थल शुल्क थप हुने जनाएको छ। वायुसेवा कम्पनीहरूले नयाँ भाडा कार्यान्वयन गरिसकेका छन्।