राजनीति

दियो जोगाउँछौँ, डँढेलो बने निभाउँछौँ : ज्ञानेन्द्र शाही को कडा चेतावनी

१९ चैत, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाही ले सरकारलाई जनताको आशा र भरोसाको प्रतीक बन्न आग्रह गर्दै चेतावनीपूर्ण सन्देश दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै शाहीले वर्तमान सरकार (नेतृत्वमा बालेन्द्र शाह) लाई विगतका कमजोरी दोहोर्याउन नहुने र जनताको आवाज सुन्ने शासन सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले सरकारलाई “आशाको दियो” बन्न सुझाव दिँदै, जनताको भविष्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

यद्यपि, शाहीले सरकार गलत दिशामा गएर “डँढेलो” बन्न खोजे त्यसलाई नियन्त्रण गर्ने र निभाउने क्षमता आफूहरूसँग रहेको चेतावनी पनि दिए। उनले दियो जोगाउने जिम्मेवारी आफ्नो पार्टीले लिने स्पष्ट पार्दै सरकारलाई सचेत गराएका हुन्।

यसै क्रममा शाहीले आवश्यक परे राप्रपाले सरकारलाई दुई तिहाइ बहुमत जुटाउन सहयोग गर्ने पनि बताए। प्रदेश संरचना खारेज गर्ने र संवैधानिक राजतन्त्रसहित संविधान संशोधन गर्ने पहल भएमा आफ्नो पार्टी समर्थन गर्न तयार रहेको उनले उल्लेख गरे।

उनको अभिव्यक्तिले सरकारप्रति समर्थन र दबाब दुवै सन्देश दिएको रूपमा हेरिएको छ।