१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले भदौ २३–२४ गतेको जेनजी आन्दोलनका घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी पार्टीलाई सुझाव दिन छुट्टै अध्ययन समिति बनाएको छ।
पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको जानकारी गराएका छन्। समितिका सदस्यहरूमा पूर्व न्यायाधिश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम, र युवा अभियन्ता यजश्वी राई रहेका छन्।
समितिले कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन सात दिनभित्र कांग्रेस केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने जिम्मेवारी पाएको छ।
सो आयोग पूर्व सरकारको नेतृत्वमा गठन भएको थियो र यसले फागुन २३ गते सरकारलाई प्रतिवेदन बुझाएको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। तथापि, प्रतिवेदन सञ्चारमाध्यममार्फत व्यापक रूपमा सार्वजनिक भइसकेको छ।





