१९ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ र त्यही दिनबाटै उत्तरपुस्तिका परीक्षणको प्रक्रिया थालिएको छ।
यस वर्ष परीक्षा फारम भर्ने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको छ। नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षा दिँदैछन्। परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र स्थापना गरिएको छ। छात्रा विद्यार्थीको संख्या २ लाख ५७ हजार ६१३ र छात्रको संख्या २ लाख ५४ हजार ८०१ रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण परीक्षा सम्पन्न भएको तीन दिनभित्र पूरा गर्नुपर्नेछ। परीक्षणको क्रममा प्रत्येक उत्तरपत्रका सबै प्रश्नको अंक सही तरीकाले लेखिएको छ कि छैन, अंक भित्र र बाहिर मिलाइएको छ कि छैन जाँचिनेछ। परीक्षक र सम्परीक्षकले प्रत्येक उत्तरपुस्तिकामा हस्ताक्षर गर्नुपर्नेछ।
विशेष सुरक्षा खतराका कारण संवेदनशील स्थानमा वैकल्पिक व्यवस्था गरी परीक्षण सुनिश्चित गरिनेछ। परीक्षण पछि प्रत्येक एकाइले मार्कस्लिप शिलबन्दी गरेर परीक्षा नियन्त्रण कार्यालयमा पठाउनेछ।
नतिजा परीक्षा सकिएको एक महिनाभित्र प्रदेशगत रूपमा प्रकाशित गरिने तयारी छ। यसरी नतिजा छिटो सार्वजनिक गर्दा विद्यार्थीमा अनावश्यक तनाव कम हुने र आगामी कक्षाको तयारी सहज हुने विश्वास गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार, नतिजा प्रकाशित भएपछि ११ कक्षाको पठनपाठन सुरु गर्ने वा स्थगित गर्ने विषयमा भने अहिलेसम्म निर्णय भएको छैन।





