आर्थिक

इन्धनमा भारी वृद्धि : पेट्रोल–डिजेल प्रतिलिटर १५ रुपैयाँ महँगियो

१९ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ कायम भएको छ। यसअघि यी स्थानमा पेट्रोल १८७ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १७९ रुपैयाँ ५० पैसा पुगेको छ।

त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल २०१ रुपैयाँ र डिजेल/मट्टितेल १८१ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। इन्धनको मूल्यवृद्धिले बजारमा समग्र महँगी थप बढ्ने चिन्ता व्यक्त गरिएको छ।