प्रवास

अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ

२० चैत, काठमाडौं ।  पश्चिम एसियाका विभिन्न मुलुकमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ११ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालय का अनुसार पक्राउ पर्नेहरूमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्।

मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्री ले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै इरान–इजरायल–अमेरिका युद्धसँग सम्बन्धित भ्रमपूर्ण फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनीहरू पक्राउ परेको बताए। युद्धग्रस्त क्षेत्रका देशहरूले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनामाथि कडाइ गर्दै आएका छन्, जसअनुसार यस्तो गतिविधिमा संलग्नलाई पक्राउदेखि डिपोर्टसम्मका कारबाही हुने गरेको छ।

विशेषगरी इरान, इजरायल र अमेरिकाबीच जारी तनावका क्रममा खाडी क्षेत्रमा भएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणसँग सम्बन्धित दृश्यहरू खिचेर सार्वजनिक गर्ने तथा त्यसलाई तोडमोड गरेर अफवाह फैलाएको अभियोगमा नेपालीहरू पक्राउ परेका हुन्। मन्त्रालयका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले पक्राउ परेकाहरूको अवस्थाबारे आवश्यक समन्वय र जानकारी संकलन गरिरहेका छन्।

उनीहरूमाथि लागेको आरोप, सम्भावित जरिवाना वा अन्य कानुनी प्रक्रियाबारे थप जानकारी संकलन भइरहेको मन्त्रालयले जनाएको छ। यस घटनाले विदेशमा रहेका नेपालीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहनुपर्ने सन्देशसमेत दिएको छ।