२० चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालय ले सहसचिव उत्तरकुमार खत्री को संयोजकत्वमा बजेट लेखन समिति गठन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले को निर्णयअनुसार गठित समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई तथा वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्यका रूपमा रहेका छन्।
मन्त्रालयका अनुसार समितिलाई आगामी बजेटका लागि नीति तथा कार्यक्रमबारे सुझाव दिने, योजनाहरूको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने तथा संसद्मा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ। साथै बजेट वक्तव्यको मस्यौदा तयार पारेर पेश गर्ने मुख्य काम पनि यही समितिले गर्नेछ।
सरकारले हरेक वर्षझैँ यस वर्ष पनि १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेट निर्माणको कार्यतालिका अघि बढिसकेको मन्त्रालयले जनाएको छ।





