समाचार

एक महिनापछि सशस्त्र प्रहरीमा नयाँ आईजीपी, को बन्ला उत्तराधिकारी ?

२० चैत, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल का वर्तमान महानिरीक्षक (आईजीपी) राजु अर्याल आगामी १८ वैशाख २०८४ मा अनिवार्य अवकाशमा जाने भएपछि नयाँ आईजीपी को बन्ने भन्ने विषयमा चासो बढेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै अवकाशमा जान लागेका अर्यालपछि संगठनको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रतिस्पर्धा तीव्र बनेको हो।

आईजीपी पदका मुख्य दाबेदारका रूपमा हालका एआईजी नारायणदत्त पौडेल अगाडि देखिएका छन्। मानव स्रोत विकास विभागका प्रमुख रहेका पौडेल सिनियरिटीका आधारमा पहिलो नम्बरमा छन्। उनी २०७९ जेठमा एआईजीमा बढुवा भएका थिए।

पौडेलसँगै एआईजी वंशी दाहाल र गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा रहेका छन्। दाहाल सीमा सुरक्षा विभागमा कार्यरत छन् भने ठाडा मगर कार्य विभागमा छन्। दाहाल पौडेलभन्दा करिब पाँच महिना जुनियर भए पनि प्रतिस्पर्धामा बलियो दाबेदार मानिन्छन्, जबकि ठाडा मगर भने करिब दुई वर्ष जुनियर भएकाले तत्काल आईजीपी बन्ने सम्भावना कम देखिन्छ।

सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीमध्येबाटै आईजीपी नियुक्ति हुने प्रचलन भए पनि आवश्यक परे डीआईजीबाट समेत नियुक्ति गर्न सकिने व्यवस्था छ। यद्यपि हालको अवस्थामा सिनियरिटीका आधारमा पौडेल र दाहालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

यता नयाँ सरकारका गृहमन्त्री सुधन गुरुङ ले सशस्त्र प्रहरीमा बढुवा तथा नियुक्ति प्रक्रिया नियमअनुसार पारदर्शी रूपमा हुने स्पष्ट पारिसकेका छन्। उनले व्यक्तिगत लाभका लागि दबाब नदिन निर्देशन दिँदै सबै निर्णय विधि र कानुनअनुसार हुने बताएका छन्।

अर्यालको अवकाशसँगै सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने तयारी भइरहँदा आगामी आईजीपी नियुक्ति संगठनको भविष्यका लागि महत्वपूर्ण मानिएको छ।