समाचार

प्रधानमन्त्री बालेन्द्र शाहः संसदले उठाएका समस्या मध्ये सक्ने काम तत्काल गरौं

२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले गण्डकी प्रदेशका सांसदहरूसँग क्षेत्रीय समस्या समाधानका लागि विस्तृत छलफल गरेका छन्। शुक्रबार भएको बैठकमा सांसदहरूले सडक, तटबन्ध, पर्यटन विकास, कृषि, अस्पताल, शिक्षा, खानेपानी र सिंचाइसम्बन्धी समस्याहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए।

नवलपुर–२ बाट निर्वाचित सांसद मनिष खनालका अनुसार, बुटवल–नारायणगढ सडकखण्ड, दाउन्ने–सडक खण्ड, त्रिवेणी–दुम्किवास सडक, हुलाकी राजमार्ग, तटबन्ध र पर्यटन विकासमा तत्काल पहल गर्न माग गरिएको थियो। म्याग्दीका सांसद महावीर पुनले असार मसान्तसम्म सम्पन्न हुनुपर्ने काममा सहजीकरणको आवश्यकता औँल्याए।

स्याङ्जा–१ बाट निर्वाचित झविलाल डुम्रेका अनुसार, सांसदहरूले भौतिक पूर्वाधार, सिद्धार्थ राजमार्ग, कृषि अनुदान, एम्बुलेन्स, अस्पतालका चिकित्सक दरबन्दी, औषधि तथा प्रविधिमैत्री शिक्षा, नमुना स्कुल, खानेपानी र सिंचाइसम्बन्धी समस्याहरू पनि उठाएका थिए।

प्रधानमन्त्री बालेनले सबै सुझाव सुनेर सचिवालयमार्फत टिपोट गराएका छन्। उनले सांसदहरूसँग भन्नुभयो, “सक्ने काम तत्काल गरौं, जसमा अहिले गर्न नसकिने भए त्यो पछि गर्ने व्यवस्था गरौं।”

सांसदहरूले समस्याहरू लिखितरूपमा प्रधानमन्त्री कार्यालयमा बुझाउन र मन्त्रालयसँग समन्वय गर्न ह्वाट्सएप ग्रुपमार्फत नियमित सम्पर्कमा रहन प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्री बालेनले अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गर्दै आएका छन्।