२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी मा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीमध्ये अधिकांश उपचारपछि घर फर्किएका छन्।
शुक्रबार इरान ले प्रहार गरेको ड्रोनलाई संयुक्त अरब इमिरेट्स को वायु रक्षा प्रणालीले अवरोध गरेपछि त्यसका अवशेष अजबान क्षेत्रमा खसेका थिए। उक्त घटनामा ७ नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि रहेका छन्।
आबुधाबीस्थित नेपाली दूतावास का अनुसार घाइते भएका ७ नेपालीमध्ये ६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एक जना अझै उपचाररत रहेका छन्। दूतावासले सबै घाइतेसँग सम्पर्कमा रही उनीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ।
उपचाररत एक नेपालीको अवस्था पनि खतरामुक्त रहेको दूतावासले पुष्टि गरेको छ। घटनापछि यूएईका सरकारी सञ्चारमाध्यममा समाचार आएसँगै दूतावासले सक्रियता बढाएर नेपालीहरूको अवस्थाबारे चासो लिएको थियो।





