२२ चैत, गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भई स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गुल्मीदरबार–४ निवासी ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन्।
घाइते ११ जनालाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारका लागि लगिएको छ। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा र मिना सनामी रहेका छन्।
अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ।
दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





