२५ चैत, काठमाडौं ।पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। यो कदम गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उठाएको हो।
उच्च स्रोतका अनुसार, अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति नेपालमा नभएकाले पक्राउ हुन सकेको छैन। हाल उनीहरू विदेशमा रहेका छन्। २१ फागुनको चुनाव अघि स्वास्थ्य उपचारको लागि सिंगापुर गएका देउवा दम्पत्ति त्यसपछि हङकङ जाने तयारीमा थिए भन्ने समाचार सार्वजनिक भएको थियो।
यसअघि जेनजी आन्दोलनको समयमा शेरबहादुर देउवा र उनकी पत्नीमाथि कुटपिट भएको घटना भएको थियो। साथै, बुढानीलकण्ठस्थित उनको घरमा आगजनी हुँदा जलेका पैसाका नोट पनि भेटिएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो।
हाल, प्रारम्भिक पत्राचार र अनुसन्धानको आधारमा यो प्रकरण सीआईबीको निगरानीमा राखिएको छ र अनुसन्धान तीव्र गतिमा अघि बढाइएको छ। यो घटनाले राजनीतिक र सामाजिक स्तरमा ठूलो हलचल र बहस सिर्जना गरेको छ।





