समाचार

उपसभामुख चयनका लागि चैत २७ मा मतदान

२५ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले निर्वाचनको मिति तय गरिएको जानकारी दिएका हुन्।

यसअघि चैत २२ गते सम्पन्न सभामुख निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। सभामुख चयन भएसँगै अब उपसभामुख चयन प्रक्रिया अघि बढाइएको हो।

प्रतिनिधिसभा नियमावलीअनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ। सोही प्रावधानअनुसार निर्वाचन मिति घोषणा गरिएको हो।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने प्रावधान छ। तर विशेष अवस्थामा एउटै दलबाट पनि दुवै पदमा चयन हुन सक्ने व्यवस्था रहेको छ।

हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको प्रतिनिधित्व रहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन्, जुन दुई तिहाइ नजिकको बहुमत हो। अन्य दलहरूमा नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७ र राप्रपाका ५ सांसद छन्।

यस समीकरणका आधारमा उपसभामुख निर्वाचनमा रास्वपाको समर्थन निर्णायक रहने देखिएको छ।