२७ चैत, काठमाडौं । पश्चिम एसियाका केही देशमा रोकिएको श्रम स्वीकृति पुनः खुला गर्न सिफारिस गरिएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) ले अवस्था क्रमशः सहज बन्दै गएको निष्कर्ष निकाल्दै केही देशमा श्रम स्वीकृति पुनः खुला गर्न श्रम मन्त्रालयलाई सिफारिस गरेको हो।
यसअघि फागुन १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति स्थगित गरेको थियो। तीमध्ये पछि केही देशका लागि पुनः खुला गरिए पनि इरान, इराक, लेबनान, इजरायल, कुवेत र बहराइनमा भने अझै रोक कायम थियो।
ईआरटीको पछिल्लो सिफारिस अनुसार इरान, इराक र लेबनान बाहेक इजरायल, कुवेत र बहराइनमा श्रम स्वीकृति पुनः खुला गर्ने तयारी अघि बढाइएको छ।
श्रम मन्त्रालयले यससम्बन्धी निर्णय प्रक्रिया अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार अब मन्त्रीस्तरीय निर्णयपछि ती देशमा पुनः श्रम स्वीकृति खुल्नेछ।
यसअघि श्रम स्वीकृति स्थगन र पुनः खुला गर्ने निर्णय मन्त्रिस्तरीय रूपमा हुँदै आएको थियो। तर पछिल्लो राजनीतिक परिवर्तनसँगै निर्णय प्रक्रिया केही प्रभावित भएको जनाइएको छ।
नयाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भइसकेकाले अब औपचारिक निर्णयपछि कार्यान्वयन हुने तयारी छ।





