२७ चैत, काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्।
उनी बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए। प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनलाई आज हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
अमेरिकामा बस्ने एक युवतीले उनलाई अमेरिकामै बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएपछि सोही आधारमा अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीका अनुसार आरोपबारे थप अनुसन्धान जारी छ। घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढिरहेको बताइएको छ।
यस विषयमा कलाकार लम्साल पक्षबाट भने हालसम्म थप औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।





