२९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि चर्किएको छ । पार्टीको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान केन्द्रीय समितिलाई भंग गर्न माग गरेको छ ।
महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार काठमाडौंको कान्तिपथमा बसेको बैठकले वर्तमान समिति विघटन गरी निष्पक्ष संयोजकको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । साथै, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्न पनि माग गरिएको छ ।
बैठकले पार्टीको चार वर्षे कार्यकाल समाप्त भइसकेको र हाल अतिरिक्त अवधिमा रहेको उल्लेख गर्दै ताजा जनादेशका लागि महाधिवेशन अपरिहार्य भएको निष्कर्ष निकालेको छ । यसअघि २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय भए पनि त्यसतर्फ ठोस पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
निर्वाचन परिणामप्रति असन्तुष्ट समूहले नेतृत्वमाथि कडा टिप्पणी गरेको छ । अध्यक्ष लिङ्देनले चुनावअघि पार्टीलाई देशकै पहिलो शक्ति बनाउने दाबी गरे पनि नतिजा अपेक्षाविपरीत आएको र त्यसको समीक्षा तथा नैतिक जिम्मेवारी नलिएको आरोप लगाइएको छ ।
असन्तुष्ट पक्षले पार्टीभित्र दिशानिर्देशको अभाव भएको, कार्यकर्ता निराश बनेको र नेतृत्वप्रति विश्वास कमजोर बन्दै गएको समेत उल्लेख गरेको छ । साथै, नेता–कार्यकर्ताहरूले पार्टी जिम्मेवारी र सदस्यता परित्याग गर्ने क्रम बढ्दै गएको दाबी गरिएको छ ।
त्यस्तै, उपसभामुख पदमा उम्मेदवारी दिएको विषयमा पनि असन्तुष्टि जनाइएको छ । उक्त निर्णय पार्टीको केन्द्रीय समिति वा कार्यसम्पादन समितिमा छलफल नगरी गरिएको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएको छ । यसले पार्टीको निष्ठा, सैद्धान्तिक आधार र आन्तरिक लोकतान्त्रिक पद्धतिमा प्रश्न उठाएको उनीहरूको भनाइ छ ।





