समाचार

भक्तपुरमा बिस्केट जात्राको रौनक

१ वैशाख, काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँ वर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

५५ हात लामो, नाङ्लोजत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।

आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमिले बताए ।

किम्वदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जिउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उनले जानकारी दिए । यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भिड लागेको छ ।

प्रत्येक वर्ष १ वैशाखमा मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरूले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुन मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । लामबद्ध भक्तजनले पूजा गरेर खट यात्रा गरि जात्रा मनाएका छन् ।

चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात्, रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।