३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र केही नेताहरू वाम एकताको दौडधुपमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उनले विचार र सिद्धान्तबिनाको एकताले पार्टीको मूल्य र मान्यतालाई कमजोर बनाउने चेतावनी समेत दिएका छन्।
सामाजिक सञ्चालन फेसबुकमा स्टाटस् लेख्दै उनले केही नेताहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै वाम एकताु को कुरा गरिरहेको बताए ।
उनले विगतमा पद प्राप्तिका लागि एकता गरिएको र अहिले आफ्नो गुम्दो अस्तित्व जोगाउनका लागि यस्तो दौडधुप भइरहेको आरोप लगाएका छन्।
पाण्डेले पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि हुनुपर्नेमा जोड दिदै प्रश्न गरे, कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?
नेकपा (एमाले)आफैंमा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै पाण्डेले तात्कालिक राजनीतिक लाभमात्र हेरेर नहुने बताएका छन्।
उनले दीर्घकालसम्म पार्टीलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्नेमा सोच्न जरुरी रहेको औंल्याएका छन्।
विचार र निश्चित गन्तव्यविनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्ने उनको भनाइ छ।
पाण्डेले अहिलेको वास्तविक आवश्यकता पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु रहेको बताएका छन्।
यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित रहेको उनको चेतावनी छ।
विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम भोगिसकेको स्मरण गराउँदै पाण्डेले हिजो मौन बस्नु गल्ती भए पनि आज पनि नबोल्नु गम्भीर मूर्खता हुने बताएका छन्।
उनले नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ नभइ, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट गर्नुपर्नेमा जोड दिएका छन् ।






