समाचार

सुकुमवासी मुद्दामा कांग्रेसको धारणा: संवाद बिना कदम चाल्नु गलत निर्णय

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेस ले सुकुमवासी समस्याको समाधान वार्ता र संवादबाटै खोज्नुपर्ने बताउँदै बल प्रयोगको विरोध गरेको छ।

पार्टीका प्रवक्ता देवराज चालिसे ले बिना वार्ता बल प्रयोग गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। उनका अनुसार, सरकारको यस्तो कदम अन्तिम विकल्प हुनुपर्नेमा सुरुमै प्रयोग गर्नु गलत हो।

“चाहे सुकुमवासीको विषय होस् वा अन्य कुनै पनि मुद्दा, समाधान संवाद र सहकार्यबाटै खोजिनुपर्छ,” उनले भने, “बल प्रयोग त अन्तिम विकल्प हो, सुरुमै त्यसलाई प्रयोग गर्नु अपरिपक्वता हो।”

चालिसेले जनताको आवाज सुन्ने र सहमतिको आधारमा अघि बढ्ने प्रक्रिया आवश्यक रहेकोमा जोड दिए। उनले सरकारको कदमलाई अनुभवको अभाव र बचपना झल्किने भन्दै आलोचना गरे।

सरकारले सुकुमवासी बस्ती खाली गराउने तयारी गरिरहेका बेला कांग्रेसले शान्तिपूर्ण वार्ता र दीर्घकालीन समाधानमा ध्यान दिन आग्रह गरेको छ।