१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न क्षेत्रका अगुवाहरूसँग गरेको छलफलमा पार्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा स्पष्ट धारणा राख्न नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको उक्त छलफलमा राजनीतिक नेता, परराष्ट्रविद्, कानुन व्यवसायी, पत्रकार तथा जेनजी युवालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलमा सहभागीहरूले हालको अवस्थामा कांग्रेसले महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्न नसकेको भन्दै पार्टीको भूमिकाप्रति प्रश्न उठाएका थिए। बीपी कोइरालासम्बन्धी ऐतिहासिक विषयदेखि लिएर पछिल्ला राजनीतिक घटनाक्रममा समेत कांग्रेस मौन देखिएको भन्दै चिन्ता व्यक्त गरिएको थियो।
छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र एकता कायम नभए आगामी १५ देखि २० वर्षसम्म सत्ताबाट बाहिर रहन सक्ने गम्भीर विश्लेषणसमेत गरिएको थियो।
नेता डा. शेखर कोइरालाले छलफलको अन्त्यतिर संक्षिप्त धारणा राख्दै पार्टी एकताको पक्षमा आफू मध्यमार्गी भूमिकामा रहेको बताएका थिए। उनले पार्टीभित्र अतिवादी धारले समस्या सिर्जना गरिरहेको संकेतसमेत गरेका थिए।
छलफलमा पार्टीको वर्तमान कार्यशैली, नेतृत्व चयन प्रक्रिया, क्रियाशील सदस्यता नवीकरण तथा संगठनात्मक कमजोरीबारे पनि प्रश्न उठाइएको थियो।
यसैगरी, संसदीय दलको नेतृत्व चयनमा देखिएको ढिलाइप्रति समेत सहभागीहरूले चासो व्यक्त गरेका थिए। अदालतको आदेशपछि कानुनी विवाद समाधान भए पनि राजनीतिक विवाद अझै कायम रहेको निष्कर्ष निकालिएको बताइएको छ।
छलफलमा कांग्रेसका नेता तथा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो।





