राजनीति

वाम एकताका लागि नेकपाको आह्वान

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् देशको कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्ने लक्ष्यसहित सबै देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

मंगलबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण तथा राष्ट्रिय स्वाधीनता कायम राख्न व्यापक एकताको आवश्यकता औंल्याएको हो।

पार्टीका अनुसार पछिल्लो समय कम्युनिस्ट शक्तिहरू विभाजित र कमजोर बन्दै गएको सन्दर्भमा वाम एकता अपरिहार्य भएको निष्कर्ष निकालिएको छ। बैठकले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्थिरताको रक्षा गर्न साझा पहल आवश्यक रहेको उल्लेख गरेको छ।

नेकपाले देशभित्र रहेका सम्पूर्ण देशभक्त, लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूलाई एउटै मोर्चामा उभिएर गणतन्त्रको संरक्षण र सुदृढीकरणका लागि सहकार्य गर्न अपिल गरेको छ।

यस आह्वानलाई वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच नयाँ समन्वय र एकताको प्रयासका रूपमा हेरिएको छ।