१६ बैशाख, काठमाडौं । सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी गरेको छ ।
हालसम्म परराष्ट्र मन्त्रालयका कर्मचारी तथा सत्तारुढ दलको सिफारिसका आधारमा हुँदै आएको नियुक्ति प्रक्रियालाई परिवर्तन गर्दै सरकार नयाँ अभ्यासतर्फ अघि बढेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार केही राजदूत पदका लागि खुला विज्ञापन आह्वान गरिनेछ र प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई छनोट गरी नियुक्त गरिने योजना बनाइएको छ।
सोमबार मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले यसबारे धारणा सार्वजनिक गर्दै खुला प्रतिस्पर्धाको अवधारणा अघि सारेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्रीसँग समेत सहमति भइसकेको र छिट्टै विज्ञापन खुलाउने तयारी भइरहेको छ।
मन्त्रालयका एक अधिकारीले अर्को साताभित्रै दरखास्त आह्वान हुन सक्ने संकेत दिएका छन्।





