समाचार

ट्रम्पका विशेष दूत गोर र रवि लामिछानेबीच भेट

१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

शनिबार सम्पन्न भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले नेपालको नयाँ सरकारप्रति सकारात्मक धारणा व्यक्त गर्दै सुधारका एजेन्डा आशाजनक रहेको उल्लेख गरेका छन्।

गोरले भनेका छन्, “नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि बलियो जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू निकै उत्साहजनक छन्।”

काठमाडौं भ्रमणका क्रममा गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए। उनी बिहीबार साँझ काठमाडौं आएका थिए भने शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।