१९ वैशाख, काठमाडौं । रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
जारी गरिएका अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३ रहेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार यी अध्यादेशहरूले सरकारी निकायको व्यवस्थापन र सुधारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसअघि पनि राष्ट्रपतिले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। साथै, सरकारबाट सिफारिस गरिएका अन्य केही अध्यादेशहरूबारे भने अझै अध्ययन भइरहेको जनाइएको छ।
राष्ट्रपति पौडेलले हालै शीतलनिवासमा कानुनविद्हरूसँग छलफल गर्दै अध्यादेशबारे परामर्श गरेका थिए। राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने हालसम्म जारी हुने निर्णयमा परेको छैन।




