शिक्षा

त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईले दिए राजीनामा

१९ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार आफूले राजीनामा दिएको पुष्टि गरेका हुन्।

भट्टराईलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

हाल बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी अघि बढाएको छ। सोहीअनुसार तयार गरिएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन्।

यसैक्रममा त्रिभुवन विश्वविद्यालयका अन्य पदाधिकारीहरूले पनि राजीनामा दिने क्रम बढेको छ। १७ वैशाखमा उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका थिए।

यस्तै, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि शुक्रबार पदबाट राजीनामा दिएका छन्। अध्यादेशपछिको यो क्रमले शैक्षिक संस्थामा राजनीतिक नियुक्तिहरूमा व्यापक परिवर्तनको संकेत गरेको छ।