आर्थिक

चार दिनको गिरावटपछि सेयर बजारमा सुधारको संकेत

२२ वैशाख, काठमाडौं । लगातार चार दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२ अंकमा पुगेको हो।

कारोबारका क्रममा दिउँसो १२:४० बजे नेप्से २७२५ अंकसम्म पुगे पनि सो स्तरमा टिक्न सकेन। उक्त अंक नै दिनको उच्च बिन्दु रह्यो। अघिल्लो दिन बजार ३४ अंकले घटेको थियो।

आज कारोबार रकम घटेर ३ अर्ब ४३ करोड रुपैयाँमा सीमित रह्यो। अघिल्लो दिन ४ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो। आज १६२ कम्पनीको सेयर मूल्य बढ्दा ९० को घट्यो भने १६ कम्पनी स्थिर रहे।

समूहगत रूपमा जलविद्युत् समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्यो। बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूह पनि बढेका छन्। विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह भने घटेका छन्।

कम्पनीतर्फ माथिल्लो लोहोरेखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ११.१६ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उकालो लाग्यो। सोलु जलविद्युत् ७.५६, धौलागिरि लघुवित्त ७.०४ तथा झापा इनर्जी ४.८० प्रतिशतले बढेका छन्।

यता फर्वार्ड लघुवित्त ९.३१ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा रह्यो। सुपर खुदी जलविद्युत् र रावा इनर्जीको मूल्य पनि घटेको छ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा सोलु जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट रहेका छन्।