२३ वैशाख, काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ समूहका ४६४ आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट कुल १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन भएको हो।
सरकारले यस वर्ष शरद ऋतुदेखि आरोहण शुल्क बढाएपछि रोयल्टी संकलनमा उल्लेख्य वृद्धि भएको हो।
यस वर्ष हालसम्म २९ हिमालमा १२७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन्। ती आरोहीमार्फत सरकारले कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ।
सगरमाथापछि ल्होत्से हिमालमा ९ समूहका १११ आरोही र अमादब्लममा ९ समूहका १०४ आरोहीले अनुमति लिएका छन्।
यस वर्ष ७९ देशका आरोही नेपालका हिमाल चढ्न आएका छन्। सबैभन्दा धेरै चीन र अमेरिकाबाट क्रमशः १३९ र १३२ आरोही आएका छन्। सगरमाथाका लागि मात्र ५५ देशका आरोहीले अनुमति लिएका छन्, जसमा चिनियाँ १००, अमेरिकी ६७ र भारतीय ५८ आरोही रहेका छन्।





