२५ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्व चयन भएको भन्दै विभिन्न व्यक्तिलाई बधाई आउन थालेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले प्रष्ट पारेको छ ।
सभापति थापाको सचिवालयले बाहिर फैलिएको हल्लामा कुनै सत्यता नभएको भन्दै कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको बताएको हो ।
सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले कुनै पनि भ्रातृ संगठनको नेतृत्व मनोनित नगरिएको सुर्य खबरलाई जानकारी दिएका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखमा बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए ।
केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।





