राजनीति

“मिश्रको कटाक्ष: रास्वपाले पार्टी कार्यालयमा प्रचण्डको तस्विर झुण्डाओस्”

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति व्यक्त गरेको गहिरो आस्था र प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएका छन्।

बिहिबार नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा अर्थमन्त्री तथा रास्वपा संासद स्वर्निम वाग्लेले उक्त प्रतिबद्धता दोहोर्याएपछि मिश्रले आफ्नो फेसबुकमार्फत यसलाई अस्ति प्रशंसा, आज विमति भन्दै आलोचना गरेका हुन्।

मिश्रले रास्वपाको यो प्रतिबद्धतालाई देश रास्वपाको यही पुस्ताका नेताहरूको मात्र पेवा हो भन्ने सोचका रूपमा व्याख्या गरेका छन्।

उनले भविष्यमा सो पार्टीमा खराब नेतृत्व नआउने र अरू पार्टीका खराब नेताको हातमा देश कहिल्यै नजानेजस्ता मानौँ हरूको श्रृंखला प्रस्तुत गर्दै वर्तमान प्रतिबद्धताको खोक्रोपन औंल्याएका छन्।

उनले नेपालको अति संवेदनशील क्षेत्रीय र विश्व भूराजनीतिको प्रभावलाई बेवास्ता गरिएकोमा चिन्ता व्यक्त गरेका छन्।

साथै, देशको विविध जातीय, धार्मिक, क्षेत्रीय सम्बन्धमा कहिल्यै संकट नआउनेजस्तो भ्रम पालिएकोमा पनि उनले असन्तुष्टि जनाएका छन्।

मिश्रले वर्तमान राजनीतिक नेतृत्व र राष्ट्रपतिको संस्थालाई इमानदार, सक्षम र दूरदृष्टिपूर्णु मान्दै सदियौँदेखि रहँदै आएको देशभक्ति र राष्ट्रिय एकताको प्रतीकको आवश्यकता नदेख्नुलाई पनि प्रश्नको घेरामा राखेका छन्।

मिश्रले अधिकांश नेपालीका छोराछोरी भविष्यमा नेपालमा बस्न नचाहने यथार्थलाई औंल्याउँदै, भोली पनि नेपालमैँ बस्ने करोडौँ सन्ततिका बारे देशको एक नम्बरको पार्टीले सोच्न पर्छ कि पर्दैन ? भनी प्रश्न गरेका छन्।

उनले अमेरिका र चीनजस्ता शक्तिशाली राष्ट्रका राष्ट्रपतिहरू सम्भावित भावी द्वन्द्व र संकटको कुरा गरिरहेको तथा संसार झन्झन् असुरक्षित हुँदै गएको अवस्थामा नेपालजस्तो भूराजनीतिक ज्वलनविन्दुमा रहेको देशले दीर्घकालीन शान्ति, स्थिरता, एकता र अस्तित्वका बारेमा सोच्नुपर्नेमा जोड दिएका छन्।

उनले लेखेका छन् खाली जहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता भन्या छ, बस्या छ।

त्यसो हो भने पार्टी कार्यालयमा प्रचण्डजीको तस्विर झुण्डाउनोस्। देशको दीर्घकालीन शान्ति, स्थिरता, एकता, अस्तित्व र भावी पुस्ताको हित ठूलो कि संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो ? मिश्रले प्रश्न गरेका छन्।

उनले भविष्यमा जेनजी विद्रोहजस्तो वा त्योभन्दा पनि खराब स्थिति आएमा, हामीले त राम्रो गरेकै हो, अरूले बिगारे भनेर पन्छिन नमिल्ने चेतावनी दिएका छन्।

मिश्रले केही वर्षका लागि केही नेता असल हुँदैमा संवेदनशील भू-अवस्थिति र आन्तरिक परिवेश भएको देशको दीर्घकालीन हित र अस्तित्व सुनिश्चित हुन नसक्ने भन्दै सबैलाई चेतना होस् भन्ने आग्रह गरेका छन्।