२ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखका वडासचिवलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापा का अनुसार खड्कालाई काठमाडौंबाट पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।
खड्काले आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलिरहेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएका थिए । उक्त अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो ।
फोन संवादमा प्रयोग गरिएको भाषा अशिष्ट र अमर्यादित रहेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले घटनालाई गम्भीर रूपमा लिँदै खड्कामाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।





