समाचार

बाजुराको बडिमालिका जाँदै गरेका तीर्थयात्रीको बाटोमै मृत्यु

२ जेठ, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले राससलाई जानकारी दिए ।

उनका अनुसार दर्शनका लागि बडिमालिका जाने क्रममा खारेको जङ्गलमा एक्कासी बेहोस भएपछि तीर्थयात्रा गएको टोलीले जिल्ला अस्पताल बाजुरामा उपचारका ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतक पन्थीसहित राष्ट्रिय सतर्कता केन्द्रका लेखा समूह उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा बडीमालिका दर्शनका लागि तीर्थयात्रामा गएका प्रहरीले जनाएको छ ।

चार जनामध्ये पन्थीलाई लेक लागेर एक्कासी बेहोस भएका कारण उपचारका ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता शाहीले जानकारी दिए ।