राजनीति

बालेन सरकारको सम्पत्ति छानबिन आयोगकाे कार्यादेशमाथी नैनसिंहको प्रश्न : यो पूर्वाग्रही देखियो

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगको कार्यादेश पूर्वाग्रही र चयनात्मक भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले सरकारको यो कदम विधिको शासनविपरीत रहेको टिप्पणी गरेका हुन् ।

नेता महरले २०१७ सालदेखि सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति निष्पक्ष रूपमा छानबिन हुनुपर्ने आफूहरूको निरन्तरको माग रहेको पनि स्मरण गराए।

तर, वर्तमान सरकारले गठन गरेको आयोगको कार्यादेशले निश्चित समय र व्यक्तिहरूलाई मात्र लक्षित गर्न खोजेको भन्दै उनले आपत्ति जनाएका छन्।

लोकतन्त्रमा कानुन सबैका लागि समान हुनुपर्छ,महरले लेखेका छन् , राज्य संयन्त्र प्रतिशोध र असहमतिका आवाज दबाउने माध्यम बन्नु दुर्भाग्यपूर्ण हो। विधिको शासनमाथि व्यक्तिको शासन हावी हुन खोज्नु लोकतन्त्रका लागि खतरनाक संकेत हो।

सरकारले हालै २०६२र६३ देखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने गरी आयोग गठन गरेको सन्दर्भमा महरको यस्तो प्रतिक्रिया आएको हो।

उनले सरकारको यो शैलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाउने चेतावनी दिँदै सबै नागरिकलाई सरकारको यस्तो कदमप्रति खबरदारी गर्न आह्वान समेत गरका छन्।

नेता महरले विधिको शासनको रक्षाका लागि कानुनको समान प्रयोग हुनुपर्नेमा जोड दिँदै राजनीतिक प्रतिशोधका आधारमा गरिने कुनै पनि छानबिनले वास्तविक भ्रष्टाचार नियन्त्रण नगर्ने दाबी गरेका छन्।