७ जेठ, काठमाडौं । अमेरिकाले सन् १९९६ मा क्युबा र फ्लोरिडाबीच दुईवटा विमान खसालिएको घटनामा पूर्व क्युबाली नेता राउल क्यास्ट्रोविरुद्ध अमेरिकी नागरिकको हत्या गर्न षड्यन्त्र गरेको लगायतका गम्भीर आरोप लगाएको छ ।
बीबीसीका अनुसार बुधबार सार्वजनिक गरिएको अभियोगमा क्यास्ट्रोसहित अन्य पाँच जनामाथि क्युबाली–अमेरिकी समूह ‘ब्रदर्स टु द रेस्क्यु’का विमान खसालेर चार जनाको हत्या गरेको आरोप लगाइएको हो । मारिनेमा तीन जना अमेरिकी नागरिक रहेका थिए ।
हाल ९४ वर्षीय क्यास्ट्रो त्यतिबेला क्युबाको सशस्त्र सेनाका प्रमुख थिए । उक्त घटनापछि क्युबाले अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना सामना गरेको थियो ।
मियामीस्थित फ्रिडम टावरमा आयोजित कार्यक्रममा कार्यवाहक अमेरिकी महान्यायाधिवक्ता टड ब्लाञ्चले क्यास्ट्रोमाथि विमान नष्ट गरेको तथा चार जनाको हत्या गरेको अभियोग दर्ता गरिएको घोषणा गरे ।
मारिएका व्यक्तिहरूमा आर्मान्डो आलेहान्द्रे जुनियर, कार्लोस अल्बर्टो कोस्टा, मारियो म्यानुएल डे ला पेना र पाब्लो मोरालेस रहेका छन् ।
ब्लाञ्चले “अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना नागरिकलाई कहिल्यै बिर्सँदैनन्” भन्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।
यता क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले उक्त अभियोगलाई “कुनै कानुनी आधार नभएको राजनीतिक चाल” को संज्ञा दिएका छन् । उनले अमेरिकाले क्युबामाथि झूटो आरोप लगाएर दबाब सिर्जना गर्न खोजेको आरोपसमेत लगाए ।
बीबीसीका अनुसार अमेरिकाले क्युबामाथि आर्थिक प्रतिबन्ध र तेल आपूर्ति नियन्त्रणलाई थप कडा बनाउँदै आएको छ । यसले क्युबामा विद्युत् अभाव र खाद्य संकट चर्किएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाको स्वतन्त्रता दिवसको अवसरमा दिएको सन्देशमा राष्ट्रपति ट्रम्पले “अमेरिका र नयाँ क्युबाबीच नयाँ सम्बन्धको बाटो” प्रस्ताव गरेको बताएका थिए ।
विशेषज्ञहरूले भने यो मुद्दाले अमेरिका–क्युबा सम्बन्धलाई थप तनावपूर्ण बनाउने चेतावनी दिएका छन् । क्यास्ट्रोलाई अमेरिकामा उपस्थित गराइने सम्भावना अत्यन्त कम रहेको भए पनि उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
-बीबीसी





