राजनीति

ओलीको राजीनामा माग भइरहेका बेला महेश बस्नेतको प्रतिवाद : ‘संकटमा नेतृत्व जोगाउनुपर्छ’

९ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठ्दै राजीनामाको माग भइरहेका बेला सचिव महेश बस्नेतले नेतृत्वको पक्षमा खुलेर प्रतिवाद गरेका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा धारणा राख्दै बस्नेतले पार्टी अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै यस्तो समयमा नेतृत्वको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।

“संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ, संरक्षण गर्नुपर्छ,” बैठकमा धारणा राख्ने क्रममा बस्नेतले बताएका छन् ।

एमाले सचिवालय बैठकमा पछिल्ला दुई दिनदेखि नेताहरूले पार्टीको वर्तमान अवस्था, नेतृत्व शैली र भावी दिशाबारे आ–आफ्ना धारणा राखिरहेका छन् । केही नेताहरूले प्रत्यक्ष र केहीले घुमाउरो शैलीमा अध्यक्ष ओलीलाई नेतृत्वबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

यसअघि शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले पनि ओलीको नेतृत्वको बचाउ गरेका थिए ।

बैठकमा नेताहरूबाट आलोचना बढेपछि अध्यक्ष ओलीले पार्टीको आधिकारिक लाइनभन्दा विपरीत जाने छुट कसैलाई नभएको बताएका छन् । उनले पार्टीभित्र अराजक गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन् ।

बैठकमा बीच–बीचमा धारणा राखिरहेका ओलीले आफूलाई “नसम्झाउन” आग्रह गर्दै दबाबका कारण नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताएका छन् ।