समाचार

भारतमा इन्धन महँगिँदा नेपालमा चिन्ता

९ जेठ, काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । ९ दिनभित्र तेस्रोपटक भएको मूल्यवृद्धिपछि दिल्लीमा पेट्रोल प्रतिलिटर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९२.४९ रुपैयाँ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो पटक पेट्रोलमा प्रतिलिटर ८७ पैसा र डिजेलमा ९१ पैसा वृद्धि गरिएको हो । यसअघि मे १९ मा औसत ९० पैसा र मे १५ मा प्रतिलिटर ३ रुपैयाँसम्म मूल्य बढाइएको थियो ।

भारतमा लगातार भइरहेको मूल्यवृद्धिको प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको छ । नेपालले पेट्रोलियम पदार्थ भारतीय आयल कर्पोरेसन (आईओसी) मार्फत आयात गर्ने भएकाले भारतबाट आउने नयाँ मूल्यसूची महँगो भए नेपाल आयल निगमको लागत बढ्नेछ ।

नेपाल आयल निगमका एक सञ्चालक समितिका सदस्यका अनुसार भारतबाट उच्च दरमा नयाँ ‘प्राइस लिस्ट’ आएमा नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ । यद्यपि तत्काल मूल्य बढ्नेबारे निर्णय भइनसकेको उनले बताएका छन् ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारको अवस्था र आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५–१५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जानु मूल्यवृद्धिको मुख्य कारण मानिएको छ । इरान–अमेरिका तनाव चर्किएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरबाट बढेर १०० डलरभन्दा माथि पुगेको बताइएको छ ।

कच्चा तेल महँगिएसँगै भारतका सरकारी तेल कम्पनीहरू आर्थिक दबाबमा परेका छन् । घाटा न्यूनीकरण गर्न मूल्य बढाइएको भारतीय अधिकारीहरूको भनाइ छ ।

भारतमा इन्धनको मूल्य ‘डाइनामिक प्राइसिङ सिस्टम’ अनुसार दैनिक रूपमा समायोजन गर्न सकिने व्यवस्था भए पनि राजनीतिक र आर्थिक संवेदनशीलताका कारण लामो समयसम्म मूल्य स्थिर राखिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालै पेट्रोलियम पदार्थको प्रयोग संयमतापूर्वक गर्न आग्रह गरेका छन् । पश्चिम एसियाको भू–राजनीतिक अवस्थालाई ध्यानमा राख्दै इन्धनको अनावश्यक प्रयोग घटाउनुपर्ने उनको भनाइ थियो ।