राजनीति

अनेरास्ववियु बैठकमै उठ्यो ओलीको राजीनामा माग

९ जेठ, काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग चर्किंदै जाँदा त्यसको असर विद्यार्थी संगठन अनेरास्ववियुमा समेत देखिएको छ । कीर्तिपुरमा सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व परिवर्तनको विषय प्रवेश गरेपछि केहीबेर बैठकमै विवाद र खैलाबैलाको स्थिति बनेको हो ।

बैठकमा संगठन अध्यक्ष दिपक धामीले प्रस्तुत गरेका एजेन्डामाथि छलफल भइरहेका बेला उपमहासचिव कमलराज जोशीले एमाले नेतृत्व परिवर्तनको विषयलाई औपचारिक एजेन्डा बनाउन माग गरेका थिए । उनले अनेरास्ववियु एमालेको जनसंगठन भएकाले पार्टी रूपान्तरणको आवाज विद्यार्थी संगठनबाटै उठ्नुपर्ने धारणा राखेका थिए ।

जोशीले “संगठनलाई जीवन्त राख्न मुहान सफा गर्नुपर्छ” भन्दै नेतृत्व परिवर्तन आवश्यक रहेको तर्क गरेपछि बैठकमा केही सदस्यहरूले समर्थन जनाएका थिए । तर अध्यक्ष धामीले उक्त प्रस्तावलाई औपचारिक एजेन्डामा समावेश नगरेपछि केहीबेर बैठक तनावपूर्ण बनेको बताइएको छ । पछि सदस्यहरूलाई धारणा राख्न दिने सहमतिपछि बैठक पुनः सञ्चालन भएको थियो ।

यता एमाले सचिवालय बैठकमा पनि अध्यक्ष ओलीमाथि दबाब बढ्दै गएको छ । शुक्रबार र शनिबार बसेको सचिवालय बैठकमा चार उपाध्यक्ष—गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विष्णु पौडेलले नेतृत्व रूपान्तरणको आवश्यकता औंल्याएका थिए । उपमहासचिव योगेश भट्टराईले त स्पष्ट रूपमा ओलीको राजीनामा माग गरेका थिए ।

तर ओली भने अझै राजीनामा दिने पक्षमा देखिएका छैनन् । बैठकमा उनले नेताहरूलाई “मलाई यसरी सम्झाएर सक्नुहुन्न, म यसरी छाड्दिनँ” भन्दै आफ्नो अडान प्रष्ट पारेका छन् । उनले केन्द्रीय कमिटीमा आफू अझै बलियो रहेको दाबी गर्दै अन्तिम निर्णय त्यहीँबाट हुने संकेत गरेका छन् ।

निर्वाचनमा व्यहोरेको पराजयपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको बेला अब यो विवाद केन्द्रीय कमिटी बैठकसम्म पुग्ने देखिएको छ ।