समाचार

साक्षी फेरेपछि तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१२ जेठ, काठमाडौं । विशेष अदालतमा विचाराधीन घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा उपस्थित भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले विप्रव पोखरेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार उनीहरूले ढुन्डिराज दाहाललाई घुस दिएको कुरा अनुसन्धानका क्रममा स्वीकार गरेका थिए। उनीहरूलाई अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐनअनुसार सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो।

तर विशेष अदालतमा बयान दिने क्रममा उनीहरूले अनुसन्धान अधिकारीसमक्ष दिएको बयानविपरीत बकपत्र गरेको आयोगको दाबी छ।

आयोगले विप्रव पोखरेलले आरएसभी मेटल र अभियान्ता नेपालका तर्फबाट, प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिजका तर्फबाट तथा राजेश श्रेष्ठले विप्रव पोखरेलकै माध्यमबाट रकम उपलब्ध गराई जम्मा ९३ हजार ८५० रुपैयाँ घुस दिएको पुष्टि भएको जनाएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसार कसुर भएको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।