१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नागरिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताको निरन्तर परिमार्जनमा जोड दिएका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको सन्देशमा दशकौँको संघर्षबाट प्राप्त उपलब्धीहरूको स्मरण गर्दै गणतन्त्रको सुन्दर पक्ष नागरिकका आकांक्षा र चाहनाअनुसारको समयानुकूल परिवर्तन भएको बताए।
पौडेलले आफ्नो सन्देशमा भनेका छन् “हामीले अपेक्षा गरेजस्तै परिवर्तन नभएको हुन सक्ला। तर, दशकौं अघिको अविकास र पछौडेपनबाट देशले केही न केही ९फड्को० उपलब्धी हासिल गरेको छ।”
उनले व्यक्तिलाई आफ्ना हक अधिकारका पक्षमा आवाज उठाउन प्रतिबन्ध लगाउने युग इतिहास भैसकेको र यदि कसैले फेरि पनि त्यस्तो प्रयास गरेमा त्यस प्रवृत्तिले पनि विगतकै नियति भोग्नु पर्ने चेतावनी दिएका छन् ।
गणतन्त्रको मूल मर्ममाथि प्रकाश पार्दै नेता पौडेलले थपे, “गणतन्त्रको सुन्दर पक्ष भनेकै आम नागरिकका आकांक्षा र चाहनाअनुसार समयानुकुल परिवर्तन अनि परिमार्जन गर्दै जानु हो। र, यसका लागि राजनैतिक नेतृत्व सदैव तम्तयार रहनुपर्छ।”
उनले राजनीतिक नेतृत्वलाई नागरिकका आवाज सुन्न र सोही अनुसार नीति निर्माण गर्न आह्वान गरेका छन् ।
नागरिक नै शक्तिशाली रहने यस व्यवस्थालाई स्थापित गर्न प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान दिने सबैप्रति श्रद्धाभाव प्रकट गर्दै पौडेलले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।






