१५ जेठ, काठमाण्डौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गरेका छन्। उनका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ ।
मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै भान्सले हालसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । उनले अन्तिम सहमति भएमा हर्मुज जलघाँटी पुनः खुल्ने, इरानको परम्परागत सैन्य संरचनामा गम्भीर असर पर्ने र आणविक कार्यक्रममाथि उल्लेखनीय नियन्त्रण सम्भव हुने बताए।
यद्यपि प्रक्रिया अझै पूरा नभइसकेको उल्लेख गर्दै उनले वार्ता जारी रहेको र सहमतितर्फको दूरी निकै कम भएको सङ्केत दिए। यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक दबाब र सुरक्षा रणनीतिले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको दाबी गरेका छन्। ह्वाइट हाउस ब्रिफिङमा उनले यसअघिका प्रशासनले हासिल गर्न नसकेको विषय ट्रम्प प्रशासनले सम्भव बनाएको टिप्पणी गरे ।
बेसेन्टका अनुसार सम्भावित सम्झौताको अन्तिम निर्णय राष्ट्रपति ट्रम्पको हातमा रहनेछ र कुनै पनि सहमतिले अमेरिकी मागहरू पूरा गर्नुपर्नेछ । उनले इरानले उच्च स्तरमा समृद्ध बनाइएको युरेनियम फिर्ता गर्नुपर्ने, आणविक हतियार नखोज्ने प्रतिबद्धता जनाउनुपर्ने तथा हर्मुज जलघाँटीमा निर्बाध समुद्री आवागमन सुनिश्चित गर्नुपर्ने सर्त दोहोर्याए।
यसबीच अमेरिकी र इरानी वार्ताकारहरूबीच ६० दिनको अस्थायी समझदारी ज्ञापनपत्र ९एमओयु० मा सहमति जुटेको खबर सार्वजनिक भएको छ । एक्सियोसको रिपोर्टअनुसार युद्धविरामलाई विस्तार गर्ने र औपचारिक आणविक वार्ताको आधार तयार गर्ने उद्देश्यले बनेको यो प्रारम्भिक समझदारी अहिले राष्ट्रपति ट्रम्प र इरान पक्षको अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेको छ ।
रिपोर्टमा अधिकांश प्राविधिक विषयहरू टुङ्गिएको उल्लेख गरिए पनि अन्तिम निर्णय शीर्ष नेतृत्वको अनुमतिमा निर्भर रहेको जनाइएको छ । एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले अन्तिम मस्यौदा अध्ययन गर्न थप केही दिन समय मागेका छन्।
यदि यो सहमति अन्तिम रूपमै पुग्यो भने, फेब्रुअरी २८ यता पश्चिम एसियामा जारी तनावपछि यो सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक उपलब्धिमध्ये एक बन्न सक्ने आकलन गरिएको छ । यद्यपि अधिकारीहरूले ट्रम्प प्रशासनका आणविक सर्तहरू समेट्ने विस्तृत सम्झौताका लागि थप गहन वार्ता आवश्यक रहने स्पष्ट पारेका छन् ।





